काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्तिका लागि दरखास्त फारम खुला गरेको छ ।बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा भर्नाका लागि दरखास्त फारम खुलेको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा अध्ययनको लागि विपन्न समुदायका जेहेन्दार विद्यार्थीबाट छात्रवृत्तिका लागि छनोट गरिन्छ ।बूढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिट संख्या ४२ छ । यसमा ५० प्रतिशत छात्रा रहनेछन् । ४२ जनामा आरक्षणतर्फ लोपोन्मुखबाट २, दलितबाट ४, मुस्लिमबाट १, मधेशीबाट ४, जनजातिबाट ५ र पिछडिएको क्षेत्रबाट २ जना छनोट हुनेछन् । त्यसैगरी विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिकाभित्रका एक छात्रा र एक छात्र छनोट हुनेछन् ।
साझेदारी कार्यक्रममा शीतलादेवी मावि धनकुटा, नवजीवन मावि सर्लाही, कुलेश्वर आवास मावि काठमाडौँ, बालमन्दिर मावि कास्की, जनता मावि पाल्पा र वीरेन्द्र मावि कैलाली छन् ।छात्रवृत्तिका लागि २८ चैत दिउँसो १ बजेदेखि ४ बजेसम्म र २९ चैत बिहान ८ बजेदेखि १० बजेसम्म दरखास्त बुझाउनुपर्नेछ । बूढानीलकण्ठ स्कुल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र अथवा शिक्षा मन्त्रालयको वेबसाइटबाट दरखास्त फारम डाउनलोड गरी तोकिएको परीक्षा केन्द्रमा बुझाउनुपर्नेछ ।छात्रवृत्तिको लागि लिखित परीक्षा २९ चैत बिहान ११ बजे हुनेछ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, सामान्य ज्ञानका ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न छात्रवृत्तिमा सोधिनेछ । छात्रवृत्ति परीक्षाका लागि देशभरका २७ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
ADVERTISEMENT

