मकवानपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन आफैमा लक्ष्य नभएको बताएका छन् । शनिबार हेटौँडामा आयोजित मिसन ग्रासरुट अन्तर्गत एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको प्रशिक्षण तथा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन समाज परिवर्तन माध्यम भएको प्रष्ट पारे ।उनले राजनीतिक परिवर्तनको लक्ष्यलाई बुझ्न नसक्दा समस्या भएको बताए ।
राजनीतिक परिवर्तनको लक्ष्यको अस्पष्टताका कारण वर्तमान समयका आन्दोलन र अभियानले सामूहिकता पाउन नसकेको उनको भनाई छ । नेतृत्वको प्रश्न कार्ल मार्क्सले भने झैँ समाज बदल्ने रहेको उनले बताए ।राजनीतिक व्यवस्थाको परिवर्तन आफैमा लक्ष्य होइन । समाज बदल्ने माध्यम हो । हामीले यो कुरालाई बुझ्न नसक्दा अहिलेका आन्दोलन र अभियानहरू सामुहिकताको विषय बन्न नसकेको हो ।’ उनले भने ‘ मार्क्सले कम्युनिस्ट घोषणा पत्रमा भनेका छन्: आजसम्म त विद्वान र दार्शनिकहरूले समाजको व्याख्या त गरे मुख्य प्रश्न त समाजलाई बदल्ने हो । कम्युनिस्ट आन्दोलन समाजलाई बदल्न भएको हो ।’
नेपालमा भएका राजनीतिक क्रान्तिले अझैसम्म पनि नेतृत्वको प्रश्न हल गर्न नसकेको उनले टिप्पणी गरे । उनका अनुसार नेपालको संविधानले व्यवस्था गरेअनुसार हरेक ५/५ वर्षमा हुने निर्वाचनले नेतृत्वको प्रश्न हल गरे पनि देश समाजवादतर्फ अग्रसर हुन सकेको छैन । नेतृत्वको प्रश्नको हल गर्नु भनेको क्रान्तिलाई पूर्णता दिनु सरह महत्त्वपूर्ण रहेको उनले बताए ।
हाम्रो क्रान्तिले नेतृत्वको प्रश्नको हल गर्न सकेको छैन । चुनावबाट नेतृत्वको प्रश्नको हल हुन्छ । चुनाव भनेको वर्ग र राजनीतिक संघर्षको केन्द्रीय थलो हो । हामीले निर्माण गरेको संविधानले ५/५ वर्षमा हुने निर्वाचनबाट नेतृत्वको प्रश्नको हल गर्ने गर्छ । त्यसको नेतृत्व एमालेले गर्ने अवसर पायो भने जबजको बाटो हुँदै समाजवाद तर्फ जान्छ । त्यस कारण नेतृत्वको प्रश्न भनेको क्रान्तिलाई पूर्णता दिनु जत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने ।

