
उनले दशरथ रङ्गशालामा हालै सम्पन्न महिला साफ च्याम्पियनको फाइनल खेलमा युवाहरूले केपी ओलीको नाम लिएर नाराबाजी गर्नेहरूलाई प्रहरीले निगरानी गरेको विषयमा यस्तो टिप्पणी गरेका हुन् ।सामाजिक सञ्जालमा बोलेको विषयलाई लिएर जापानमा अध्ययनरत एक जना नेपाली युवालाई इन्टरपोल लगाएर नेपाल भित्र्याउनेसम्मको तयारी भइरहेको समाचार देख्दा आफूलाई आश्चर्य लागेको साहको भनाई छ । उनले भने, ‘यो सरकार निर्दयी भयो । यस्तो व्यवहारले सरकारको नेतृत्वमा हुनेको ओज बढाउँदैन, बरु सर्वसत्ता लाद्ने नेताको छवि बन्छ ।’
प्रधानमन्त्री ओलीले जनस्तरबाट भएको आलोचनासमेत पचाउन नसकेको साहको आरोप छ । उनले भने, ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएको केपी ओलीले नागरिकस्तरबाट सरकारको आलोचना हुँदा सहन नसक्नु गम्भीर गल्ती हो । जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु अराजकता हो । उहाँको व्यवहार त एक ताका चितवनको सडकमा वितण्डा मच्चाउँदै हिँड्ने ध्रुवे हात्तीजस्तो भयो । यो व्यवहार उहाँले सच्याउनुपर्छ । नत्र जनताले उहाँलाई ठेगान लगाउनेछन् ।’साहले कांग्रेसको वैशाखीमा सत्ता–यात्राको रोमान्समा भुलिँदै ‘जनता केही पनि होइन’ भन्ने नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिए । पूर्वमन्त्री साहले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरे । ‘यो सरकार बन्दै गर्दा के के नै गर्छौं भनेर कांग्रेस र एमालेका नेताहरूले ठुलो कुरा गर्नुभयो, तर अहिले व्यवहारमा हेर्नुहोस् त देशको हालत झनै खस्कियो, जनतामा निराशा पैदा भएको छ । भ्रष्टाचार मौलाएको छ । बेथितिको चाङ लागेको छ’ उनले भने ।