सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गयो : मोहन वैद्य
zeenepal
२०८१ मंसिर १३,
12
Shares
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले जनताले राज्यसत्ताप्रति नै विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका छन् । सत्तारुढ दलहरू, राजनीतिक व्यवस्था र राज्यसत्ताप्रति नै जनतामा असन्तुष्टि, आक्रोश बढ्दै गएकाले त्यसको विकल्पको खोजी गर्ने अवस्था पैदा भएको उनको जिकिर थियो । बिहीबारबाट काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकूल बन्दै गएको दाबी समेत गरे ।
उनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन हालका लागि कमजोर अवस्थामा रहेको स्वीकार गर्दै आगामी दिनमा बलियो भएर जाने विश्वास व्यक्त गरे । संयोजक वैद्यले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले लिने पनि बताए । संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीहरुले मुलुकलाई संकटको डिलमा पुर्याएको समेत बताए ।