काठमाडौं १३ असार। काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा गि्रभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।
अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।तालिमका सहजकर्ता एवम् परामर्शदाता नवराज गुरुङकाअनुसार अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।
‘यसअघि सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोल फ्रि सञ्चालन गरेका थियौं । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्,’ ‘कोभिडको समयमा परामर्श र सेवाका लागि सञ्चालन गरिएको ११८० नम्बरको टोल फ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा पुर्याएका छौं ।’
ADVERTISEMENT