काठमाडौँ ४ जेठ, नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएकी छिन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसद बैठकबाट बाहिरिँदै गर्दा सचेतक भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताइन् ।
पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उनको भनाइ छ । उनले स्थानीय तह निर्वाचनमा काँग्रेसको अग्रताले काँग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महशुस भएको बताइन् । उनले काँग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् ।
सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको बताइन् । पार्टीभित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ ।
महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको उनले बताइन् ।
उनले भनिन्, ‘काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो । तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ यसबाट भोलिको दिनमा पार्टीले उम्मेदवारी दिँदै गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ ।
यो परिणामलाई हेरेर निष्कर्ष निकाल्नुपर्ने त छैन, किनभने अझै धेरै परिणाम आउन बाँकी छ ।’ उनले गठबन्धन दलभित्र निर्वाचनका क्रममा देखिएका कमजोरीलाई दोहोरिन नदिने पनि बताइन् ।
ADVERTISEMENT