काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक डा पवन श्रेष्ठको नाममा स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म कार्यालयको सम्पर्कमा नआएपछि मन्त्रालयले स्पष्टीकरणसहित कार्यालयमा सम्पर्क गर्न सात दिनको समय दिएको हो ।
आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर हाजिर रहेको र स्थायी वतनमा खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ संशोधन सहित को नियम ११५ को २ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत पनि कार्यालयको सम्पर्कमा नआएकोले स्पष्टीकरण सोधिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
बाटोको म्याद बाहेक सात ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु होला, अन्यथा तपाई उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड च को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही भइजानेछ' मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

