नेपालगञ्ज । किसानलाई जडिबुटी खेतीमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगञ्जमा नेपाल जडिबुटी ब्यवसायी संघको २६औं साधारणसभा उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले नेपालमा पाइने दुर्लभ र अमूल्य जडिबुटीहरुको व्यवसायिक खेती गरी संरक्षण, संबद्र्धन र सदुपयोग गर्न सकिए आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास ब्यक्त गरेका थिए । नेपालमा जडिबुटी सम्बन्धि नीतिलाई केही परिमार्जन गरिए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको सम्बद्धको गुनासो छ ।
नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सांसद मिना कुमारी सिद्दिकीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, पूर्व अध्यक्ष नन्दलाल बैश्य,नेपाल जडिबुटी व्यवसायी संघका सल्लाहकार शकिल अहमद जसगढ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यबहाक सभापति धनराज बर्मा, नेपाल किसान संघ क्षेत्र नम्बर २ बाँकेका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि सिद्दिकीले जडिबुटी नेपालको समृद्धिको आधार भएको भन्दै जडिबुटी खेतीलाई प्रबद्र्धन गर्दै अघि बढ्न सक्नुपर्नेमा जोड दिइन् । नीतिगत उल्झन फुकाउन आफ्नो तर्फबाट प्रयास गर्ने उनको भनाई छ । त्यस अवसरमा जडिबुटीको व्यवसायिक खेती गरिरहेका दुई जना किसानलाई सम्मान समेत गरिएको छ । सल्यान छत्रेश्वरीका किर्ति बहादुर वली र सुर्खेत सिम्ताका लाल बहादुर बुढालाई संघले सम्मान गरेको हो । उपाध्यक्ष मेराज अन्सारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त रिजालले गरेका थिए । साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
ADVERTISEMENT

